शनिबार ०५ पुस, २०८२

कुलिङ पिरियड स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकसँग सम्बन्धित छ : डा. शाक्य

कुलिङ पिरियड स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकसँग सम्बन्धित छ : डा. शाक्य

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले सरकारी कर्मचारीका लागि प्रस्तावित कुलिङ अफ पिरियड स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकसँग सम्बन्धित रहेको बताएकी छन् ।

संघीय निजामती सेवा सम्बन्धी विधेयकमा २ वर्ष कुलिङ अफ पिरियड रहने प्रावधान छ । विधेयकबाट कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान हटाउने प्रस्ताव उनको छ ।

यससम्बन्धी प्रावधान रहेको दफा ८२ मा संशोधन राखेर डा. शाक्यले यो विषय ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्बन्धित भएको हुनाले यस विधेयकबाट हटाउने’ तर्क गरेकी छन् ।

डाक्टर शाक्यले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभा विधेयकमा हालेको संशोधनलाई गलत ढंगले व्याख्या गरिएको भनेर पनि असन्तुष्टि जनाएकी छन् । उनको असन्तुष्टि संसद सचिवालयसँग छ ।

कुलिङ अफ पिरियड सम्वन्धमा सरकारको प्राथमिकतामा परेको ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्वन्धित भएकाले निजामती सेवा विधेयकबाट हटाउने भनेर आफूले उल्लेख गरे पनि संशोधन प्रस्तावको एकीकृत विवरणमा फरक ढंगले आएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनको सचिवालयका अनुसार एकीकृत संशोधनको विवरणमा राखेका शब्दले भ्रम सिर्जना गरेको भनेर संसद सचिवालयको समेत ध्यानाकर्षण गराएकी छन् । आफूले राखेको संशोधन प्रस्ताव भन्दा फरक उल्लेख भएकाले गोलमटोल नगरी बुझ्ने भाषामा सच्याउन समेत विधेयक शाखालाई उनले आग्रह गरेकी छन् ।