शनिबार ०५ पुस, २०८२

कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै

कांग्रेसले पहिलोपटक एआईसम्बन्धी छलफल गर्दै

काठमाडौं ।  नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृतिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आइतबार १० बजेदेखि हुने कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने बताइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रविधिको द्रुत विकाससँगै एआईको प्रयोगबारे आफ्नो धारणा राख्नेछन् ।

कार्यक्रममा एआईको सम्भाव्यता, उपयोग र चुनौतीहरूबारे टुटलका संस्थापक तथा उद्यमी इञ्जिनियर शिक्षित भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाडौं विश्वविद्यालयका प्रा. डा.सुदन झा, प्रधानमन्त्री कार्यालयअन्तर्गत ई-गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत दिपेश विष्ट तथा नेपाली कांग्रेसको प्रविधि विभाग सदस्य उज्ज्वल कोइरालाले प्यानल छलफलमा सहभागी हुनेछन् । कांग्रेसले एआईसम्बन्धी बृहत छलफल पहिलोपटक गर्न लागेको हो ।