संवैधानिक परिषद्बाट २ जनाले निर्णय लिन सक्ने प्रावधानप्रति राष्ट्रपतिको चासो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्का अध्यक्ष र एकजना सदस्य मात्रै हुँदा पनि बैठक बस्न सक्ने र नियुक्तिको सिफारिसको निर्णय लिनसक्ने प्रावधानमा चासो देखाएका छन् ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको छ । राष्ट्रपति कार्यालय पुगेको ९ दिन भएको छ ।
राष्ट्रपतिको चासोका कारण विधेयकमाथि अध्ययन भइराखेको आफूहरूले बुझेको कांग्रेसका एक नेताले बताए । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नु अगाडि त्यसमा रहेको प्रावधानमा चासो राख्न सक्ने पनि उनको जवाफ छ ।
संघीय संसद्का दुवै सभा (प्रतिनधिसभा र राष्ट्रिय सभा)बाट पारित भएपछि सभामुख देवराज घिमिरेले यो विधेयक गत ३२ असारमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा कूल ६ जना हुन्छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।
प्रचलित ऐनमा परिषद्को बैठक बस्न गणपूरक संख्या अध्यक्ष र चारजना सदस्य उपस्थिति अनिवार्य हुनुपर्छ । राष्ट्रपति कार्यालय पुगेको विधेयकमा विधेयकमा गणपूरक संख्याका चारवटा अवस्था परिकल्पना गरिएको छ।
