टेलिग्राम बन्द गर्ने सरकारको निर्णय रुसी दूतावासद्वारा अवज्ञा
काठमाडौं । सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले बन्द गराएको सामाजिक सञ्जाल टेलिग्राममा निरन्तर अपडेट गरिरहने काठमाडौंस्थित रुसी दूतावासले जनाएको छ ।
नेपाल सरकारले टेलिग्राम एप बन्द गराए पनि दूतावासको आधिकारिक टेलिग्राम च्यानल निरन्तर चलिरहने भन्दै सूचना नै जारी भएको हो । ‘तर, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लेटफर्मलाई ब्लक गर्ने निर्णय गरेकाले हाम्रो एकाउन्टमा पहुँचमा अवरोध हुनसक्ने सम्भावना छ’, दूतावासले भनेको छ, ‘हामी स्थिर सञ्चार कायम गर्न र अपडेटहरु वैकल्पिक माध्यममार्फत दिन पनि हरेक प्रयास गरिरहेका छौं ।’
दूतावासले भन्यो– विकल्पमा भीके
नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । त्यसपछि नेपालमा टेलिग्राम चल्न छाडेको छ । यस्तोमा काठमाडौंस्थित रुसी दूतावासले विकल्पका रुपमा रुसी सामाजिक सञ्जाल भीके प्रयोग गर्न समेत सुझाएको छ ।
भीके र टेलिग्राम दुवैका सञ्चालक एकै व्यक्ति हुन् । सन् २०१३ मा टेलिग्रामको स्थापना गर्नुअघि रुसी उद्यमी पावेल डुरोभले रुसको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भिके स्थापना गरेका थिए ।
भीके सञ्चालनका क्रममा उनको सन् २०११/१२ तिर तत्कालीन सत्तासँग असझदारी बढ्यो ।
राजनीतिक आन्दोलनका बेला सरकारले विपक्षी नेताहरुका पेज हटाउन दबाब दिएको थियो, तर उनले अस्वीकार गरेपछि विवाद उग्र बनेको थियो । दबाबका बीच उनले भीके छाडेको घोषणा गरेका थिए र रुसबाट निर्वासित भएका थिए ।
उनले टेलिग्राम खोलेपछिका केही वर्ष रुसमा समेत प्रतिबन्ध लगाइएको थियो । पछि उग्रवादी गतिविधिको अनुसन्धानमा सहयोग गर्ने सहमतिपछि रुसी सरकारले प्रतिबन्ध हटाएको थियो ।
