टंक कार्कीको प्रश्न– विद्या भण्डारीलाई संविधानले रोक्दैन, राजनीतिले रोक्न मिल्छ ?
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन संविधानले नछेक्ने बताएका छन् । संविधानले नरोक्ने भएकाले उनलाई राजनीतिले पनि रोक्न नमिल्ने उनको तर्क छ ।
फेसबुकमा स्टाटस राख्दै कार्कीले लेखेका छन्, ‘पूर्व राष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन । त्यसैले संविधानले रोक्दैन । राजनीतिले रोक्न मिल्छ ?!’
उनले हालका राष्ट्रपति रामचन्द्र पौडेल सभामुखबाट फर्केपछि कांग्रेसको राजनीतिमा सामेल भएको, सुवास नेम्बाङ पनि सभामुखबाट फर्केपछि एमालेमा सामेल भएको, बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएको, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष भएको उदाहरण दिँदै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मजेरी टेक्नु हुन्न !!’
नेकपा एमालेको साउन गते सम्पन्न केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएको थियो । यो निर्णयमा एमालेले संविधानका धारा उपधाराहरु उद्धृत गर्दै लेखेको छ, ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन…।’
यदि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए ‘जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर’ केन्द्रीय कमिटीले गरेको छ ।
यसैप्रति कार्कीले आफ्ना धारणा सार्वजनिक गर्दै विद्यालाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका हुन् ।
चीनका लागि नेपालका पूर्वराजदूत समेत रहेका कार्कीले आफ्नै पार्टी एमालेलाई व्यंग्य गर्दै भनेका छन्, ‘हामी बडो लोकतान्त्रिक छौं । हामी राजनीति गर्छौं ।’
