शनिबार ०५ पुस, २०८२

जनार्दन लक्षित प्रचण्डको टिप्पणी : सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरेका छन्

जनार्दन लक्षित प्रचण्डको टिप्पणी : सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि पार्टीभित्र केही नेताहरू सिंगौरी खेल्न पाए हुन्थ्यो भनेर लागिरहेको टिप्पणी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा उनले त्यसतर्फ लक्षित गर्दै सिँगौरी खेल्न आफूले छुट दिएको जिकिर गरे ।

‘अहिले पनि केही साथीहरू ल त भनेर अलि अलि सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गरेका छन् । उहाँहरूलाई म प्रशस्त सिँगौरी खेल्न दिएको छु,’ प्रचण्डले भने, ‘जति सिँगौरी खेल्न मन लाग्छ खेल्नुस् भनेर दिएको छु । अस्ति डेढ महिना परामर्श भनेर देशभर लिएरै हिँडे, यो भन्दा बढी गर्ने के हो जनवाद ?’

साथै, उनले आफ्नो कमजोरी भन्ने नै फरक मत राख्नेहरूप्रति उदार हुनु रहेको बताए ।

‘कतिपय साथीहरूले भन्नुहुन्छ, म अलिकति बढी विचारलाई असहिष्णु भए किँ । मेरो कमजोरी भिन्न मतलाई दमन गर्ने होइन । भिन्न मतप्रति अलि बढी उदार हुने मेरो कमजोरी हो,’ उनले भने ।

यी विषयमा पार्टीभित्र आफ्नो बढी आलोचना हुने गरेको पनि स्वीकार गरे ।

‘मेरो पार्टीभित्र अलि बढी आलोचना हुने गरेको छ। मैले कसैलाई कारबाही गरिनँ, कमरेड किरण, बाबुराम, बादल, अरु अरु थुप्रै थुप्रै,’ प्रचण्डले भने, ‘कसैलाई पनि मैले पार्टीबाट निकालेको चाहिँ छैन । तर, कतिपय साथीहरूलाई लाग्छ, ननिकालेर के गर्ने, बस्ने ठाउँ नै नदिएपछि के लाग्छ भन्ने छ । तर, त्यो पनि सत्य होइन ।’