जनकपुरको होटलमा युवकमाथि धारिलो हतियार प्रहार, एक तलाबाट खसालेर हत्या
जनकपुरधाम । जनकपुरको एक होटलमा धारिलो हतियार प्रहारपछि एक तलामाथिबाट खसालेर एक युवकको हत्या गरिएको छ ।
प्रहरीका अनुसार हत्या हुनेमा महोतरी गाउँपालिका- १ पर्सा बस्ने २८ वर्षीय शनि भन्ने बिमलेश यादव रहेका छन् ।
जनकपुरको जिरोमाइल स्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिबार राति ३ बजेतिर धारिलो हतियार प्रहार गरी एक तल्ला माथिबाट खसालेको अवस्थामा ती युवक फेला परेका थिए ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार राति एकजना युवतीसँगै ती युवक होटलमा बस्न गएका थिए । युवतीले नै हत्या गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
