आइतबार ०६ पुस, २०८२

पदाधिकारी हेरफेर अद्यावधिक नभएपछि रास्वपा पुग्यो निर्वाचन आयोग

पदाधिकारी हेरफेर अद्यावधिक नभएपछि रास्वपा पुग्यो निर्वाचन आयोग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् ।

महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर छलफल गरेका छन् ।

भेटपछि महामन्त्री बुर्लाकोटीले निर्वाचन आयोगले पदाधिकारी हेरफेरमा विलम्ब गरेको बुझ्न आएको जानकारी गराए ।

‘विलम्ब नहुनुपर्ने केही कैफियत छ कि भनेर कुरा राख्न आएका थियौं,’ बुर्लाकोटीले भने,‘पार्टीबाट बुझाइएका सबै जसो पुगेको उहाँहरुले भन्नुभएको छ । पदाधिकारी हेरफेर भएको विवरण पटक-पटक बुझाइरहेका पनि छौं ।’

आयोगले रास्वपाका पदाधिकारी हेरफेर अद्यावधिक नगर्दा पूर्वमहामन्त्री त्यही पूर्ववत् पदमा फर्कन पाउनुपर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।