आइतबार ०६ पुस, २०८२

नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी अभियोग

नक्कली डाक्टर श्याम टण्डनविरुद्ध फौजदारी अभियोग

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विदेशमा एमबीबीएस अध्ययन गरेका श्याम टण्डनविरुद्ध सरकारी वकिलको कार्यालय, काठमाण्डूले फौजदारी अभियोग दायर गरेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ का ३६ वर्षीय टण्डनले उच्च माध्यमिक तहको प्रमाणपत्र कीर्ते गरी बंगलादेशमा एमबीबीएस अध्ययन खुलेको थियो ।

प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको थियो । बंगलादेशमा एमबीबीएस अध्ययन गर्न टण्डनले नेपाल मेडिकल काउन्सिलबाट एलिजिबिलिटी (अनुमति प्रमाणपत्र) प्राप्त गरेका थिए । सो प्रमाणपत्र लिनका लागि उनले उच्च माध्यमिक शिक्षा बोर्डबाट जारी भएको ट्रान्सक्रिप्ट कीर्ते गरी पेस गरेका थिए ।

बंगालादेशमा एमबीबीएस अध्ययन गर्ने प्रयोजनका लागि २०६६ सालमा कक्षा ११ र १२ पास भएको शैक्षिक प्रमाणपत्रमा कक्षा १२ मा पाएको नम्बर परिवर्तन गरेका थिए । विषयगत अंकहरू हेरफेर गरी प्रमाणपत्र बनाइएको देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, भक्तपुरबाट प्राप्त जानकारीअनुसार टण्डनले कक्षा १२ मा अंग्रेजी विषयमा ५२ अंक पाएकोमा ८५ अंक बनाइएको थियो । यस्तै, भौतिकशास्त्रमा ३१ अंकलाई ६८ बनाइएको, रसायनशास्त्रमा २० अंकलाई ६९ र जीव विज्ञानमा ३८ अंकलाई ४१ अंक बनाइएको देखिएको छ । उनले रजिस्ट्रेसन नम्बर ६५४९२००८७ भएको प्रमाणपत्र कीर्ते गरेका थिए ।