शंकरलाई ईश्वरको ‘काउन्टर’ : पोलिटब्युरो बैठकमा हंगामा हुनसक्ने संकेत
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठकमा हंगामा हुने संकेत देखिएको छ । विधान संशोधन प्रस्तावबारे सचिवालय बैठकको निर्णयलाई लिएर पार्टीका शीर्ष नेताहरू नै ‘वाकयुद्ध’ मा ओर्लेपछि पोलिटब्युरो बैठकमा हंगामा हुने संकेत देखिएको हो । पोलिटब्युरो बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ ।
गएराति सम्पन्न सचिवालय बैठकले गरेका निर्णयलाई उद्धृत गर्दै महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरेलगत्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पोखरेलको प्रतिवाद गरेका छन् । साथै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएको भन्दै पोलिटब्युरो बैठकमार्फत परिमार्जनका लागि छलफल गर्न तयारी गर्न भनेका छन् ।
शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भएको बताएको केही घण्टामै वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई काउन्टर जवाफ दिएका हुन् ।

