पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गरौं : नेता थापा
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट विधिमा चल्नेब बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान गरेका छन् ।
विहीबार रातिसम्म चलेको एमाले सचिवालय बैठकको निर्णयहरूप्रति संकेत गर्दै थापाले पार्टीभित्र व्यापक अन्तरसंघर्ष आवश्यक रहेको भन्दै यसका लागि पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ एमालेको सचिवालयको बैठकमा,’ थापाले शुक्रबार बिहान फेसबुकमा लेखेका छन् ।
उनले थपेका छन्, ‘कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौं ।’
नेता थापाले पार्टी अध्यक्षको आदेशमा चल्न थालेको संकेत गर्दै यसलाई सच्याउन पार्टीभित्र संघर्ष रहेको उल्लेख गरेका छन् । ‘आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तरसंघर्षलाई सघन बनाऔं ।’
उनले अन्तरसंघर्षलाई मर्यादित र सिष्ट बनाउन पनि आग्रह गरेका छन् । एमालेको सचिवालय बैठक विहीबार राति मध्यरातसम्म चलेको थियो । पोलिटब्युरो बैठक सारे शुक्रबार ३ बजेका लागि बोलाइएको छ ।
विहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
साथै, दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी भदौमा हुने विधान महाधिवेशन प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।
बैठकमा पोखरेल लगायतका केही नेताहरूले यसमा फरक मत राखेका छन् ।
सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने देखिन्छ ।
