आइतबार ०६ पुस, २०८२

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ : कांग्रेस नेता सिटौला

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले केही राम्रा कामहरू गरे पनि सबै काम गर्न नसकेको बताए ।

उनले सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने तर्क गरे ।

सरकारले जनताको हितमा कामहरू गर्दै जानुपर्नेमा जोड दिंदै उनले भने, ‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ ।’

सांसद सिटौलाले थपे, ‘हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत, केही गर्न सकेका छैनौँ, गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन ।’

शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले भने, ‘शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ । त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’

सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरू रहेको बताए ।