आइतबार ०६ पुस, २०८२

प्रधानमन्त्रीले शपथकै बेला एक वर्ष है भन्नुभएको थियो : मन्त्री गुरुङ

प्रधानमन्त्रीले शपथकै बेला एक वर्ष है भन्नुभएको थियो : मन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीमण्डल पुनर्गठन गर्नेकुरा सामान्य प्रक्रिया रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई शपथ खुवाउने बेलामै एक वर्षको लागि भनेको स्मरण गराएका हुन् ।

स्पेन भ्रमणपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने समाचार सञ्चारमाध्यममा आएको थियो नि भन्ने प्रश्नमा मन्त्री गुरुङले मन्त्रीमण्डल गठन, पुनर्गठन गर्नेकुरा ठूलो कुरा नभएको तर्क गरे ।

‘मन्त्रीमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा छैन । यो प्रधानमन्त्रीको अधिकारको कुरा हो’ उनले भने, ‘हामी अहिले समीकरणमा छौं । गठबन्धनमा सहमति भयो भने … सामान्यतः एक वर्षभित्र मन्त्रीहरूलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो । १ वर्षको हो है भन्नुभएको थियो ।’

उनले थपे, ‘त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो । एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्यान्डिङ गरेका छौँ ।’

सरकारले एक वर्षमा उपलब्धिमुलक काम गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको दाबी गर्दै उनले भने, ‘अब दौडिने परिस्थिति निर्माण भएको छ ।’

उनले सरकारले चाहेजस्तो अझै नभएको बताए । ‘आयात घट्न थालेको छ । निर्यात बढ्न थालेको छ । विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसाबले पनि धेरै राम्रो भएको छ । लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ । अब कति स्पिडमा जाने भन्ने हो,’ उनले भने ।

मन्त्री गुरुङले बजेटको डुप्लिकेसन र बिना अध्ययन योजना राख्ने काम बन्द भएको दाबी गरे ।