जेलेन्स्कीलाई ट्रम्पले सोधे – लामो दूरीका हतियार पाए सिधै मस्कोमा हमला गर्न सक्नुहुन्छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहन गरेको खुलासा भएको छ ।
फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा भएको फोनवार्ताको क्रममा ट्रम्पले यदि अमेरिका लामो दूरीका हतियार उपलब्ध गराएमा युक्रेनले सिधै मस्कोमाथि हमला गर्न सक्छ कि सक्दैन भनेर सोधेका थिए ।
वार्तामा ट्रम्पले जेलेन्स्कीलाई सोधे, ‘भोलोदीमिर, के तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छ ? सेन्ट पिटर्सबर्गलाई पनि ?’
जवाफमा जेलेन्स्कीले भने, ‘निश्चित रूपमा, तपाईंले हतियार दिनुभयो भने हामी सक्छौं।‘
ट्रम्पले आफ्नो रणनीतिबारे स्पष्ट पार्दै भने, ‘उनीहरूलाई पीडा महसुस गराउने र वार्ता टेबलमा ल्याउने हाम्रो उद्देश्य हो।‘
वार्ताका यी संवादहरू ट्रम्पको रूसप्रतिको नरम प्रस्तुती र युद्ध अन्त्य गर्ने वाचा विपरीत लाग्छन् । यो कुराकानी ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीचको ‘नकारात्मक‘ भनिएको फोन कुराकानीको भोलिपल्ट भएको हो।
रिपोर्टअनुसार, पछिल्ला हप्ता रोममा भएको बैठकमा अमेरिकी पक्षले युक्रेनी राष्ट्रपति समक्ष सम्भावित हतियारहरूको सूचि प्रस्तुत गरेको थियो । सूचिमा लामो दूरीका आक्रमण प्रणालीहरू समावेश थिए।
यस विधिबाट ट्रम्पले अमेरिकी कंग्रेसको स्वीकृति बिना युरोपेली साझेदारमार्फत हतियार आपूर्ति गर्न सक्ने छन्।
फाइनान्सियल टाइम्सका अनुसार, युक्रेनले टोमहक मिसाइलजस्ता १६०० किमी दूरीसम्म प्रहार हुनसक्ने क्रूज मिसाइलको माग गरेको भए पनि ट्रम्प टोली र बाइडेन प्रशासन दुवै युक्रेनको संयमता अभावप्रति चिन्तित देखिन्छन्।
यद्यपि ट्रम्पले मंगलबार पत्रकारहरूसँग भने, ‘जेलेन्स्कीले मस्कोलाई निशाना बनाउन हुँदैन ।‘
उनले अमेरिका लामो दूरीका हतियार किभलाई दिन ‘उत्सुक नछैन‘ पनि प्रस्ट पारे। तर, उनले भने, ‘यदि ५० दिनभित्र शान्ति सम्झौता भएन भने, हामी रूसमाथि भारी भन्सार शुल्क र प्रतिबन्ध लगाउनेछौं।‘
