आइतबार ०६ पुस, २०८२

एमालेको निष्कर्ष : पार्टी र नेतृत्वमाथि गरिएको हमलाको प्रतिवाद गर्न सकिएन

एमालेको निष्कर्ष : पार्टी र नेतृत्वमाथि गरिएको हमलाको प्रतिवाद गर्न सकिएन

 काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले पार्टी र नेतृत्वमाथि गरिएको हमलाको प्रतिवाद गर्न तयारी नपुगेको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको संगठन विभागको बैठकले उक्त निष्कर्ष सहितको निर्णय सार्वजनिक गरेको छ । निर्णयमा भनिएको छ, ‘पछिल्लो समय हाम्रो पार्टी र नेतृत्वमाथि गरिएको हमला र गलत अफवाहको जमेर प्रतिवाद गर्न पार्टीपङ्क्तिलाई गरेको निर्देशन र तयारी अझै नपुगेको निष्कर्ष निकालियो ।’

पार्टीले सञ्चालन गरेको जरा अभियानले संगठन सुदृढीकरणमा बल पुगेको विभागले जनाएको छ । माघ, फागुन र चैत्रमा सञ्चालन गरिएको वडा–केन्द्रित जरा अभियान सञ्चालन गरिएको थियो ।

अभियानको पछिल्लो अवधिमा राजावादी विरुद्ध जनसचेतनाका गतिविधि गर्नुपरेका कारण जरा अभियानका निर्धारित काममा केन्द्रित हुन सम्भव हुन नसकेको निर्क्यौल गरिएको छ ।

पार्टीलाई चलायमान बनाइराख्न जरा अभियान जस्तै प्रकृतिको अभियान लिएर जनताको घर–घरसम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरिएको संगठन विभागले जनाएको छ ।

बैठकले विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा प्रस्तुत गरेको २०८२/८३ को वार्षिक कार्ययोजनाको  प्रारम्भिक खाका पारित गरेको छ ।