आइतबार ०६ पुस, २०८२

एमआरपी नराख्ने स्वागत ट्रेडिङ सहित २ उद्योगलाई साढे २ लाख जरिबाना

एमआरपी नराख्ने स्वागत ट्रेडिङ सहित २ उद्योगलाई साढे २ लाख जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा उद्योग तथा फर्मलाई साढे २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सोमबार नियमित बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत व्यापार–व्यवसाय गर्ने २ उद्योग तथा फर्मलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

काठमाडौं महानगरपालिका–३२ मा रहेको स्वागत ट्रेडिङ प्रालिले एमआरपी नराखी वस्तु बिक्री गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको जनाएको छ । साथै, उक्त फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले काठमाडौं–२३ मा सञ्चालित सागर डिस्ट्रिब्युसन प्रालिलाई दर्ता र मूल्यसूची नराखेको भन्दै ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले ३ उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यावसायिक कागजात लिएर विभागमा उपस्थित हुन र ४ वटालाई सामान्य निर्देशन मात्रै दिएको छ ।