भूमि आयोग अध्यक्ष नियुक्ति सम्बन्धी ‘घुस डिल’मा मुछिएका मन्त्री भन्छन्– कुनै संलग्नता छैन
काठमाडौँ । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति सम्बन्धी घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरू कसैले कुरा गरेको आधारमा आफूलाई मुछ्ने काम भएको बताए ।
उनले हल्लाको आधारमा नभई तथ्यको आधारमा सत्यको खोजी गर्न आग्रह समेत गरे । भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको उनको भनाई छ ।
