सोमबार ०७ पुस, २०८२

भानु जयन्तीमा र्‍याली र सम्मान

भानु जयन्तीमा र्‍याली र सम्मान

काठमाडौं । २१२ औं भानु जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा र्‍यालीसहित कार्यक्रम गरेको छ । कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी पन्त, साहित्यकार डा. नवराज लम्साल लगायत सहभागी थिए ।

कार्यक्रममा साहित्य तथा संस्कृतिविद तुलसी दिवसलाई अभिनन्दन गरिएको थियो ।

कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सुरु हुनुअघि विद्यार्थी, कर्मचारी र नेपाली सेनाको ब्याण्ड टोली समेतको सहभागितामा र्‍याली निकालिएको थियो । भानुभक्तको तस्वीरलाई बग्गीमा राखिएको थियो ।

भानुभक्तले रचना गरेका कृतिका पात्रहरुको पोशाकमा विद्यार्थीहरु सजिएका थिए । उनले नेपालीमा अनुवाद गरेको रामायणको कथाका पात्र रावण, राम–सीता, ऋषि अनि चर्चित घाँसी कविताको मुख्य पात्र घाँसीको रुपमा पनि विद्यार्थीहरु देखिन्थे । र्‍यालीमा सहभागीहरुले रामायणका फोटाहरु समेत बोकेका थिए ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं. १९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्बजनिक विदा दिएको छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।