डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारी संकट : सहकारी बचतकर्ताले घेरे व्यवस्थापकको घर
बुटवल । करिब १५ करोड रुपैयाँ अपचलनको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–३ स्थित डिंगरनगर दुरगामी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरूले संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकको घर घेराउ गरेका छन् ।
सहकारीका व्यवस्थापकले श्रीमतीसँग कागजी सम्बन्ध बिच्छेद गरेर उम्किन खोजेको भन्दै उनीहरूले बिहीबार साँझदेखि रातिसम्म अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक बसन्त पराजुलीको घर घेराउ गरेका हुन् ।
व्यवस्थापकले जस्तै अध्यक्ष र सचिवले पनि किर्ते सम्बन्ध बिच्छेद गरेर सहकारीको करोडौं बचत अपचलनबाट उम्किन सक्ने संभावना देखेर परिवारका सदस्यलाई सचेत गराउन घर घेराउ गर्नुपरेको बचतकर्ता चेतबहादुर बस्नेतले बताए । ‘व्यवस्थापकले वडामा गएर किर्ते डिभोर्सको प्रक्रिया अघि बढाएको थाहा पायौं, आफूले गरेको बद्मासीबाट उम्किन अध्यक्ष र सचिवले पनि यस्तै गर्न सक्छन् भन्ने लागेर घर घेराउ गरेका हौं’ बस्नेतले भने ।
सहकारीको रकम अपचलन गरेको प्रमाण बाहिरिएपछि अध्यक्ष तिवारी, सचिव थापा र व्यवस्थापक पराजुली सम्पर्कविहीन छन् । उनीहरूलाई खोजेर यथाशीघ्र सम्पर्कमा ल्याई बचत फिर्ताको ग्यारेन्टी गराउनुपर्ने माग बचतकर्ताले राखेका छन् ।
बचतकर्ताहरूले घर घेराउ गरेपछि सशस्त्र समेत ठूलो संख्यामा प्रहरी परिचालन गरी तोडफोड र अन्य अप्रिय घटना हुनबाट जोगाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले बताए । ‘बचतकर्ताहरूले राति अबेरसम्म सहकारीका अध्यक्ष, सचिव, व्यवस्थापकको पालैपालो घर घेराउ गर्नुभयो तर सुरक्षा सतर्कताले कुनै अप्रिय घटना हुन पाएन’ डीएसपी रानाले भने ।
१७ वर्षसम्म एउटै व्यक्ति अध्यक्ष, करिब १५ करोड हिनामिना
सहकारीका अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र एउटै दलका मान्छेको बर्चश्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको बचतकर्ता चेतबहादुर बस्नेतको बुझाइ छ । ‘सहकारीलाई पार्टीकरण गर्दा यस्तो समस्या आयो’ बस्नेत भन्छन्, ‘१७ वर्षसम्म एउटै व्यक्ति अध्यक्ष भइरहँदा सम्बन्धित सरकारी निकायले पनि हेरेन अनि ठूलो बद्मासी हुन पुग्यो ।’ बस्नेतले आफ्नो १० लाख बचत रहेको बताए ।
प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ । यो ऐन बन्नुभन्दा अगाडि पनि नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्नु संघीय कानुनविपरीत छ । तर स्थानीय कांग्रेस नेता घनश्याम तिवारी राजनीतिक शक्तिको आडमा ऐनलाई कुल्चेर यो सहकारीमा १७ वर्षदेखि अध्यक्ष पदमा थिए ।
सहकारीमा बद्मासी भएको छनक पाएपछि करिब चार सयजना सदस्यले बचत फिर्ताका लागि सहकारीमा निवेदन दिएका थिए । निवेदनपछि सहकारी सञ्चालक समिति तथा सहकारीका केही सदस्य बसेर १९ असारदेखि सर्वसाधारणको बचत फिर्ता गर्ने निर्णय गरेका थिए । तर सहकारीका अध्यक्ष र सचिवले अर्को दिन उक्त सहमतिको माइन्युट नै च्यातेर फरार भएको आरोप बचतकर्ताहरू बताउँछन् ।
उक्त सहकारीमा भएको बचत अपचलनको छानबिनमा संलग्न पूर्व सल्लाहकार बेलप्रसाद शर्माका अनुसार प्रारम्भिक अनुसन्धानमा करिब १५ करोड हिनामिना भएको छ । यो रकम बढ्न पनि सक्ने बताउँदै उनले भने, ‘अध्यक्ष र सचिवले बचत फिर्ता दिने सहमतिको माइन्युट नै च्यातेपछि अरु कागजात र प्रमाण नष्ट हुन नदिन वडा कार्यालयले सहकारीमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि तीन सय बढी सदस्यहरूको हस्ताक्षरसहित प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा बचत फिर्ताको माग गर्दै निवेदन दिएका छौं ।’
निवेदन दिएपछि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट आएको टोलीले अनुसन्धान थालेको छ । प्रतिवेदन नआउन्जेल सहकारीको तालाबन्दी यथावत छ ।
