प्रधानमन्त्रीको गुनासो : देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन् ।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आलोचनात्मक नभई विश्वलेषणात्मक चेतको जरुरी रहेको तर्क गरे ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले जे कुरामा पनि आलोचना नभई रचनात्मक सुझाव जरुरी रहेको बताए ।
‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना, जेमा पनि आलोचना, जेमा पनि आलोचना होइन’ उनले भने, ‘रचनात्मक सुझाव आवश्यक छ, रचनात्मक टिप्पणी जरुरी छ ।’
उनले थपे, ‘विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’
