सर्वोच्चले माग्यो महिमानसिंह विष्टको रिट दर्ता नगर्ने आदेशको फाइल
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले पेश गरेको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश गरेको छ ।
न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विष्टको रिट निवेदन दरपीठ (अस्वीकार) गर्दाको फाइल (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो ।
अदालतमा मुद्दा विचाराधीन भएको बेला सर्वोच्च अदालतको शाखा अधिकृत विष्टले पठाएको फर्जी कागजातका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका थिए ।
फर्जी कागजात तयार पारेको आरोपमा उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ । त्यसका साथै सर्वोच्च अदालत प्रशासनले उनलाई निलम्बित समेत गरेको थियो ।
आफू अदालतकै आदेशले धरौटीमा छुटेको तर अदालत प्रशासनले निलम्बन गरेर दोहोरो कारबाहीमा परेको भन्दै विष्टले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता गर्न नमिल्ने भन्दै दरपीठ (दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको हो । त्यही आदेश विरुद्ध निलम्बित शाखा अधिकृत विष्टले दिएको निवेदनमा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
