कुलपति समक्ष उपकुलपति अर्यालले लिए सपथ
काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा. अर्यालले सपथ लिएका हुन् ।
कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।
शिक्षामन्त्री पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।
जसमध्येबाट कुलपति ओलीले डा. अर्याललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।
१५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।
२०५२ सालमा शिक्षण सहायकबाट त्रिविमा प्रवेश गरेका अर्याल उपकुलपति बने । उनी सेवा आयोगको प्रक्रिया पूरा गरेर त्रिवि छिरेका थिए ।
२०५४ सालमा स्थायी भएका उनी २०७६ सालमा प्राध्यापक भएका थिए । त्यसपछि उनी जल तथा मौसम विभागको प्रमुख समेत भए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुन् ।
