सोमबार ०७ पुस, २०८२

सडकमा उत्रिएका डाक्टरले मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउँदै

सडकमा उत्रिएका डाक्टरले मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउँदै

काठमाडौं । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा चरणबद्ध आन्दोलन गरेका चिकित्सकले सोमबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।

संघका अध्यक्ष डा. अनिल कार्कीले देशभरको सेवा ठप्प पारेको बताए । उनले भने, ‘सेवा बहिष्कार गरेका छौं । आकस्मिक र सघन उपचार भने सुचारु छ । आन्दोलनमा सशक्त बनाउँदै लगेका छौं ।’

मंगलबार अस्पतालको सेवा बन्द गरेर काठमाडौं उपत्यकाका चिकित्सक माइतीघरमा जम्मा भएका छन् । काठमाडौं बाहिर भने संघको शाखामा भेला हुने र स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम छ ।

‘चिकित्सकलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सम्बन्धित प्रदर्शनस्थलमा भेला भई धर्ना दिन आह्वान गरेका छौं,’ डा. कार्कीले भने, ‘अब चिकित्सक सडकमा उत्रिए ।’

डा. कार्कीका अनुसार चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ । मंगलबार बेलुका नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी छ ।

‘इमेलमार्फत प्रमाणपत्र र लाइन्सेस चिकित्सकले पठाइरहनुभएको छ । सकेसम्म आज बेलुकी नै मेडिकल काउन्सिललाई बुझाउँछौं,’ डा. कार्कीले भने ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा ठप्प पार्दा दैनिक ४ लाखभन्दा बढी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।