सोमबार ०७ पुस, २०८२

कोशीका सभामुख : हिजो राजालाई रेकर्डबाट हटाए, आज महाराजधिराजलाई हटाउन मानेनन्

कोशीका सभामुख : हिजो राजालाई रेकर्डबाट हटाए, आज महाराजधिराजलाई हटाउन मानेनन्

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले संसदको रेकर्डबाट ‘श्री ५ महाराजधिराज’ शब्द हटाउन अस्वीकार गरेका छन् ।

प्रदेशसभा बैठकको शून्य समयमा  राप्रपाका प्रदेशसभा सदस्य गोपाल विश्वकर्माले पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भन्दै सम्बोधन गरी जन्मदिनको शुभकामना दिएका थिए ।

‘श्री ५ महाराजधिराज’ भनेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले रेकर्डबाट हटाउन माग गरे । तर सभामुखले ठाडै अस्वीकार गरे ।

‘नेपालको संविधानले श्री ५ भनेर चिन्दैन । उहाँ ज्ञानेन्द्र शाहमात्रै हो,’ विदुरले भने, ‘संविधानले नचिन्ने कुरा रेकर्डबाट हटाइ पाऊँ।’

लिङथेपको कुरा सुनेपछि  ध्यानाकर्षण भएको बताउँदै बोल्नै नपाउने भन्ने नहुने बताए । ‘ठिकै छ मान्यज्यू तपाईको  ध्यानाकर्षण भएको छ,’ सभामुख विष्टले भने, ‘बोल्नै नपाउने भन्ने कुरा त त्यहाँ छैन क्यार, उहाँले जे भनेको भए पनि संविधानले जे भन्छ त्यो मात्रै कायम भएर जाने कुरा हो ।’

त्यसपछि लिङ्थेप फेरि भने, ‘हामी संविधानभित्रै छौँ, संविधानभित्रै रहुँ भन्ने  आग्रह हो ।’ उनको आग्रह नसकिदै सभामुख विष्टले संविधानभित्रै रहन्छ धन्यवाद भन्दै बैठकलाई अघि बढाए ।

यसअघि गत फागुन ११ गतेको बैठकमा भने उनले संसदको रेकर्डबाट राजा शब्द हटाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सविना बजगाईंले पूर्वराजाको अभिव्यक्तिलाई लिएर ‘केही नेताहरूले राजालाई थुन्ने’ अभिव्यक्ति दिएको भन्दै  आपत्ति जनाएकी थिइन् । त्यसबेला नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पाले संविधानले ‘राजा’ शब्द नचिन्ने भन्दै अभिलेखबाट हटाउन माग गरे।

केहीसमय सवालजवाफपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । त्यसबेला उनले भनेका थिए, ‘एउटा राजा शब्दलाई हटाइयोस् भन्ने छ, त्यसलाई रेकर्डबाट हटाइयोस् मैले रुलिङ गरेँ ।’

‘अघिल्लो पटक रेकर्डबाट राजा शब्द हटाउँदा पार्टीबाट अब्जेक्सन आएको थियो, गलत गर्नु भयो भन्ने कुरा थियो,’ सभामुख निकट स्रोत भन्छ, त्यहीँ भएर यसपटक हटाउन नमानेको हुनसक्छ ।’

सभामुख विष्ट राप्रपाबाटका सासद हुन् । सभामुख भए पनि उनी प्रदेश सरकारका गणतन्त्र सम्बन्धि कार्यक्रम गर्दा सहभागी हुँदैनन्, जेठ १० गणतन्त्र दिवसको अवसरमार सरकारले कार्यक्रम गर्दा उनी झापा घर गएका थिए ।