रुपन्देही-३ उपचुनाव : स्वतन्त्र उम्मेदवारी दिने लेखनाथ गैरेको घोषणा
बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गैरेले आइतबार पत्रकार सम्मेलन गरी उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका हुन् । गैरेले विद्यार्थी जीवनदेखि हालसम्म कुनै दलको सदस्यता नलिई स्वतन्त्र रहेकाले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
राज्यका हरेक निकायमा चरम राजनीतिकरण हुँदा नागरिकमा वितृष्णा बढेकाले सुशासन दिने राम्रा कानून बनाउन, वजेटको न्योचित र समानुपातिक वितरणका लागि स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने गैरेको तर्क छ ।
२०५० सालदेखि बुटवलमा बस्दै आएका गैरले आफू क्षेत्र नं ३ को स्थानीय भएकाले यहाँका सबै वर्ग र समुदायका समस्यासंग जानकार रहेको बताए । ‘राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा भएको देखेर जनभावना अनुसार स्वतन्त्र शब्दलाई न्याय दिन उम्मेदवार बन्ने निर्णय गरेको हुँ’, पत्रकार सम्मेलनमा गैरेले भने ।
गैरेले गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालन, रुपन्देही ३ मा तिनाउ नदीमा स्थानीय तहहरुले लगाउने ठेक्कामा हरेक वर्ष करोडौं रुपैयाँको ढुंगा गिटी बालुवाको चोरी निकासीलाई नियन्त्रण, खुला सीमाबाट हुने भन्सार छली र चोरी निकासी नियन्त्रण, मल, बिउ र सिँचाइको समस्या समाधान, पर्यटन र सुशासन आफ्नो प्राथमिक एजेण्डा रहेको बताए ।
उपनिर्वाचनमा नेपाली कांग्रेसबाट बालकृष्ण खांण, भरत शाह, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खांण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरु बताउँछन् ।
एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल, पूर्वप्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि उम्मेदवार बन्ने चर्चा छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपक बोहराका छोराहरु क्या । गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा, पूर्वमेयर सागरप्रताप राणा लगायत आकांक्षी छन् । गौरव र प्रज्ज्वल दुई भाइ हुन् ।
माओवादी केन्द्रसहितका विपक्षी दलबाट एकीकृत समाजवादीका महासचिव घनश्ययाम भुसाल र युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।
रास्वपाबाट उम्मेदवारका आकांक्षी आफै खुलेका छैनन् । तर, आकांक्षी निकटहरुका अनुसार क्षेत्र नं ३ का सभापति मधु अर्याल, सहकारी अभियान्ता ज्ञानु पौडेल लगायतको नाम चर्चामा छ । कतिपयले दीपक बोहराका दुई छोरामध्ये बुद्ध एअरका पाइलट गौरव बोहरा रास्वपाबाट उम्मेदवार बन्न सक्ने चर्चा गरेका छन् ।
नेकपा माओवादी केन्द्रसहित विपक्षी गठबन्धनले नेकपा एसका महासचिव घनश्याम भुसाल वा अस्पताल व्यवसायी कमल भण्डारीलाई उम्मेदवार बनाउन सक्ने चर्चा गर्छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबीच सहमति भएको थियो । नागरिक उन्मुक्तिबाट रेशम चौधरी र धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ ।
उता काठमाडौंको मेयर बालेन शाहका समर्थक समेत स्वतन्त्र उम्मेदवार उठ्ने चर्चा छ । ती उम्मेदवारलाई गत आम चुनावमा डढेल्धुरामा नेपाली कांग्रेसका सभापतिसँग चुनाव लडेर हारेका सागर ढकालले सहयोग गर्ने स्रोतको दाबी छ ।
