सोमबार ०७ पुस, २०८२

सरकारबाट बाहिरिने नाउपाको निर्णय, समर्थन पनि फिर्ता

सरकारबाट बाहिरिने नाउपाको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिने भएको छ ।

शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको सांसद गंगाराम चौधरीले जानकारी दिए ।

‘सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको छ’, सांसद चौधरीले लोकान्तरसँग भने, ‘पार्टीको तर्फबाट सरकारमा सहभागी राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ । उहाँले भोलि आइतबार राजीनामा दिनुहुन्छ ।’

सांसद चौधरीले समर्थन फिर्ता लिइएकोबारे आइतबार नै संसद्लाई जानकारी गराइने बताए । 

ओली नेतृत्वको सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । नाउपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

अघिल्लो वर्ष असारमा कांग्रेस, नाउपा लगायतका दलको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए ।