सांसद सुवालको प्रश्न : सबै निजीकरण गर्ने भए सिंहदरबार विदेशीलाई चलाउन दिने ?
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् ।
आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताए ।
‘वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री गरिने छैन भनेर यो प्रस्तावनामा ल्याउनुपर्छ । त्यो ल्याइएन भने निजीकरणको लागि बाटो खुला गरिएको छ, विभिन्न दफामा,’ उनले भने ।
उनले थपे, ‘सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भन्ने जुन यो विधेयकको उद्देश्य राखिएको छ । त्यो ठिक भएन । त्यसमा सचेत हुनुपर्छ ।’
उनले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भनेझैं विधेयक ल्याइएको आरोप लगाउँदै उनले यो ठिक नभएको धारणा राखे ।
सांसद सुवालले भने, ‘अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ ।’
समितिमा आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
