सोमबार ०७ पुस, २०८२

‘सम्भावित स्टिल, फलाम, तेल र ग्यास स्रोतको खोज, अन्वेषणमा चीनसँग सहकार्य आवश्यक’

‘सम्भावित स्टिल, फलाम, तेल र ग्यास स्रोतको खोज, अन्वेषणमा चीनसँग सहकार्य आवश्यक’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाबारे विस्तृत छलफल भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै भने, ‘नेपाल र जनवादी गणतन्त्र चीन घनिष्ठ छिमेकी हुन् । हाम्रो सम्बन्ध आपसी विश्वास, सम्मान, सद्भाव र मैत्रीपूर्ण आधारमा अगाडि बढिरहेको छ ।’

उनले यस वर्ष नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन लागिएको सन्दर्भमा नेपाल–चीनबिचको सम्बन्ध राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले थप गहिरिँदै गएको बताए ।

मन्त्री भण्डारीले चीनसँगको आर्थिक साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा रहेका सम्भावित स्टिल खानी, फलाम खानी, तेल र ग्यास स्रोतहरूको खोज, अन्वेषण तथा उपयोगमा चीनसँग सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘चीनको प्राविधिक तथा लगानी साझेदारीका माध्यमबाट हामी खानी तथा खनिज स्रोतको व्यावसायिक विकास गर्न सक्नेछौं । यसले नेपालको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’

उनले हालै दैलेख जिल्लामा सम्पन्न गरिएको ४ हजार १३ मिटर गहिरो उत्खनन तथा पेट्रोलियम स्रोत पत्ता लगाउने कार्यलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे ।

उनले भने, ‘यो सफलता ऊर्जा आत्मनिर्भरताको दिशातर्फको सशक्त पाइला हो । दाङ, पाल्पा र सुनसरी जिल्लामा पनि थप सम्भावना देखिएको छ, त्यसअनुसार विस्तृत अन्वेषणका लागि चीनसँग आर्थिक तथा प्राविधिक सहयोगको लागि लगानी प्रस्ताव गरिएको छ ।’

राजदूत सोङले पनि नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन, निर्माण लगायत क्षेत्रमा चीनको लगानी तथा सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

उनले द्विपक्षीय सम्बन्ध अझ सुदृढ बनाउनुका साथै खानी तथा खनिजहरूको व्यावसायिक उत्पादनमा चीन सरकारका तर्फबाट सकिने आवश्यक सहयोगका लागि समन्वय गर्ने बताए ।