सोमबार ०७ पुस, २०८२

कांग्रेसले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

कांग्रेसले तय गर्‍यो केन्द्रीय समिति बैठकका एजेन्डा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि एजेन्डाहरू तय गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समितिका छलफलका एजेन्डाहरू तय गरेको हो ।

बैठकले भ्रातृ संगठनहरूलाई समय थप्नेबारेमा छलफल गरी निर्णय निकाल्ने बताएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबारदेखि सुरु हुँदैछ ।

केन्द्रीय समिति बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै केन्द्रीय समितिको बैठकमा पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउनेबारेमा छलफल हुनेछ । प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने उनले बताए ।

उनले केही भ्रातृ संगठनले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए ।

संस्थाको आवश्यकताको आधारमा समय दिनेबारेमा छलफल हुने उनले बताए । साथै क्रियाशील सदस्यहरूको स्थितिबारेमा पनि छलफल हुनेछ ।

‘भोलिदेखि केन्द्रीय समिति बैठक बस्दैछ । केही दिन चल्छ । केही समयको ग्यापपछि केन्द्रीय समितिको बैठक भएको हुनाले यसमा भ्रातृ संगठनको समय थप्नेबारेमा छलफल हुन्छ । समसामयिक, राजनीतिक विषयको समीक्षा हुन्छ,’ उनले भने ।