सोमबार ०७ पुस, २०८२

व्यवसायी आन्दोलित, सुनचाँदी कारोबार ठप्प

व्यवसायी आन्दोलित, सुनचाँदी कारोबार ठप्प

काठमाडौं । व्यवसायीको आन्दोलनका कारण सुनचाँदीको कारोबार ठप्प भएको छ । सुनचाँदीको मुख्य कारोबार हुने स्थान न्यूरोडका पसलहरु आइतबार पनि बन्द छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको नयाँ मूल्य समेत निर्धारणमा समेत विलम्व गरेर विरोध जनाएको छ । महासंघका अध्यक्ष अर्जुन रसायलीले आफूहरुका माग सम्बोधन नभएसम्म कारोबार ठप्प हुने जानकारी दिए ।

कारोबार नै ठप्प भए पनि नयाँ मूल्य भने तय गरिने उनले बताए । ‘नयाँ मूल्य केही बेरमै तय हुन्छ, तर माग सम्बोधन नभएसम्म विरोध कायमै रहन्छ’ उनले भने ।

बजेट घोषणापछि नै व्यवसायीहरु आन्दोलनमा छन् । बजेटले सबै किसिमका सुनका गरगहनामा २ प्रतिशत विलासी कर थपेपछि व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।

विलासी कर लगाउनुअघि नै नेपालभन्दा भारतमा सुन सस्तो रहेको र यो करले यहाँ सुनको मूल्य थप बढ्न गई भारतबाट तस्करी समेत मौलाउने व्यवसायीको भनाइ छ ।

बजेटअघि १० लाखमाथिको सुनका गरगहना एकैपटक खरिद गर्दा मात्रै विलासी कर लाग्दथ्यो । त्यसो हुँदा एकै व्यक्ति तथा परिवारले १० लाखमुनि हुनेगरी धेरै पटक गरगहना खरिद गर्दथे ।

अहिले भने सबै रकमको गरगहना खरिदमा २ प्रतिशत विलासी कर लागेपछि व्यवसायी आन्दोलित भएका हुन् । २ प्रतिशत विलासिता शुल्कले सुनको गरगहना ६ प्रतिशतसम्म महँगो पर्न जाने व्यवसायीको भनाइ छ ।

सरकारले बजेट संशोधनका क्रममा माग पूरा गर्ने आश्वासन दिए पनि सम्बोधन नगरेको भन्दै व्यवसायी आक्रोशित बनेका हुन् ।