कोशी प्रदेशको बजेट पारित
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । शुक्रबारको प्रदेश सभा बैठकबाट २०८२–८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित भएको हो ।
१ असारमा सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । छलफलपछि शुक्रबार बहुमतले पारित गरेको हो ।
आगामी आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयकमाथिको छलफलमा ३८ जना सांसदले सहभागिता जनाएका थिए ।
आगामी आर्थिक वर्षका लागि सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड हुने अनुमान छ । बाँकी संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट व्योहोरिने अनुमान छ । बजेट साउन १ गतेदेखि कार्यान्वयन हुनेछ ।
