शिक्षा विधेयकमा सहजीकरण गर्न कांग्रेसका प्रमुख सचेतक पुगे संसदीय समिति
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहजीकरण गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे संसदीय समितिको बैठकमा पुगेका छन् ।
विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल चलिरहेको छ ।
शुक्रबार दिउँसाेदेखि सुरू भएको बैठकमा ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल’ गर्ने कार्यसूची छ ।
दलहरूबीच जुटेको सहमतिअनुसार कक्षा १० को एसइई परीक्षा प्रदेश स्तरमा सञ्चालन हुनेछ । यसको परीक्षा सञ्चालन र व्यवस्थापनबारे थप व्यवस्था प्रदेश कानुन बनाए अनुसार हुने गरी छोड्न लागिएको छ ।
निजी विद्यालय सञ्चालन गर्न सक्ने प्रावधान यथावत रहनेछ । यसअघि निजी विद्यालय गुठीमा जानुपर्ने व्यवस्थाको पक्षमा समेत बहस हुँदै आएको थियो । तर, तत्काल निजी विद्यालयलाई गुठीमा लैजान नसकिने निष्कर्षमा दलहरू पुगेका छन् ।
बरु कम्पनी कानुन अनुसार विद्यालय स्थापना र सञ्चालनको बाटो खोल्न लागिएको छ ।
हाल शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालनको अनमुति प्राप्त हुने व्यवस्था छ । यसलाई बदलेर कम्पनी कानुनअनुसार विद्यालय खोल्न दिन लागिएको छ । यो समितिले विद्यालय शिक्षा विधेयकमा राख्न लागेको नयाँ प्रावधान हो ।
