सोमबार ०७ पुस, २०८२

रास्वपाले अराजकतालाई मलजल गरिरहेको छ : एमाले सांसद गैरे

रास्वपाले अराजकतालाई मलजल गरिरहेको छ : एमाले सांसद गैरे

काठमाडौं । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरूको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने पनि उनले बताएका छन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गरेको छानविन प्रक्रियालाई कुनै असर नपर्नेगरी अख्तियार दुरुपयोग अनुसन्धन आयोगले स्पष्टतापूर्वक छानबिन गरिरहेको छ । त्यसमा नेपाल सरकारले सहयोग गरिरहेको छ भन्नेकुरा पनि त्यो वक्तव्यबाट स्पष्ट हुन्छ,’ उनले भने, ‘आगामी दिनमा थप व्यवस्थित गर्ने, आगामी दिनमा यस्ता काम नदोहोरिनका लागि काम गर्नुपर्छ । देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी यो काम भएको छ ।’

संसद बहिष्कार गरेर गएकाहरुले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानविन समितिको बारेमा बुझ्न नसकेको जिकिर सांसद गैरेको थियो ।

‘भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएकै छ । भिजिट भिसा प्रकरणमा जुन रुपमा नेपालीहरु ठगिएको, नेपालीहरुले त्यहाँ सास्ती पाएको, त्यसको माध्यमबाट धेरै सम्पती गुमाएको भन्ने छ,’ सांसद गैरेले भने, ‘कुनै दोषी व्यक्तिहरु उम्किन नपाओस् । निर्दोष व्यक्तिहरुले लाञ्छित हुनु नपर्ने स्थितिको निर्माण होस् । अहिले संसद बहिष्कार गरेर जानुभएका माननीयज्युहरूले बुझ्नुभएन ।’