सभामुखको बचाउमा उभिए योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘सभामुखका बारेमा सुविधा अनुसारको व्याख्या’ भएको बताएका छन् ।
सामासजक सञ्जालमा उनले लेखेका छन्, ‘नाराबाजीका बीचमा संसद चल्नु राम्रो होईन तर के यो पहिलो पटक हो त ?’ विगतका प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले वेलमा नारा लगाएको उनले बताएका छन् ।
उनी अगाडि थप्छन्, ‘वर्तमान सभामुखका बारेमा टिप्पणी गर्ने मीडिया वा महानुभावले पहिलेका सभामुखका बारेमा के लेखिएको थियो ? के बोलिएको थियो ? एकपटक आफैलाई ऐनामा हेर्ने हो कि ?’
बसहका लागि भनेर उनले थप प्रश्नहरू समेत राखेका छन् । उनी प्रश्न गर्छन, ‘कस्ता विषयमा बैठक अवरुद्ध गर्ने ? सबैको सहमती कसरी बनाउने? सहमतीको न्यूनतम आधार केलाई बनाउने? बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक बिषयमा सबैको सहमती हुनै पर्छ भन्ने ग्यारेन्टी कस्ले गर्न सक्छ ? बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने ?’
यी प्रश्नमा खुला छलफलका लागि उनको आग्रह छ । ‘आउनुहोस छलफल गरौ । सकेसम्म सर्बस्वीकार्य प्रणाली स्थापित गरौ । अड़ानका नाममा प्रक्रियालाई बन्धक नबनाऊ । दोसी सभामुख हो की हाम्रो ईगो ?’ भट्टराईको अर्को प्रश्न छ ।
