संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?
काठमाडौं । प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीका बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् ।
संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उनले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधि सभा नियमावली २० को व्यवस्थाबारे ध्यानाकर्षण गराए ।
उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’
उनले रास्वपा सांसदहरुतर्फ इंगित गर्दै भने, ‘माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।’
शक्ति बस्नेत बोलुन्जेल चुप लागेर वेल अगाडि पलेंटी कसेर बसिरहेका रास्वपा सांसदहरु थापा बोल्न थालेपछि भने फेरि नारा लगाउन थाले । तर सभामुख घिमिरेले थापाको कुरामा ध्यानाकर्षण भएको बताउँदै थापालाई बस्न भने । अनि शक्ति बस्नेतलाई आफ्ना भनाइ जारी राख्न भने ।
सभामुखको यो भनाइपछि थापा बसे र बस्नेत फेरि बोल्न सुरु गरे । रास्वपा सांसदहरु भने फेरि चुपचाप बसिरहे ।
सभामुख घिमिरेले सोमबारको बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । तर बैठक नरोकिएपछि रास्वपा सांसदहरु नाराबाजी गर्दै वेल अगाडि गए भने राप्रपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।
तर पनि संसद बैठकमा बजेटमाथिको छलफल जारी छ ।
